Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वुमन एसिया कप: नेपालले युएईला ६ विकेटले हरायो, सम्झना खड्काको अर्धशतकीय पारी

वुमन एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ । नेपालका तर्फबाट सम्झना खड्काको अर्धशतकीय पारीले युएईले दिएको ११६ रनको लक्ष्य सहजै पुरा गर्‍यो । 

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सम्झनाले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाएपछि यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेटायो ।

samjhana.jpg

नेपालको जितमा ओपनर सम्झनाले अविजित ७२ रन बनाइन् । १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेकी सम्झनाले ४५ बलमा ११ चौका प्रहार गरिन् । जुन नेपालबाट सम्झनाले बनाएको पहिलो अर्धशतक हो । यसबाहेक, रुविना क्षेत्रीले १० रन थपिन् । सीता रानामगर र पूजा महतोले समान सात रन बनाउँदा कप्तान इन्दु बर्माले ६ र कविता कुवँरले दुई रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।

नेपालकी कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।