पदमुक्त प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ । आज साँझ पदमुक्त भएलगत्तै बालुवाटारको सरकारी निवास छाडेर खुमलटार गएका प्रचण्डलाई स्थानीय नागरिक, संघसंस्था र माओवादी नेता–कार्यकर्ताले स्वागत गरेका हुन् ।

उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो भने उनको विपक्षमा १९४ मत पर्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

प्रधानमन्त्री प्रचण्ड एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिएका हुन्। २०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा उनी तेस्रोपटक सिंहदरबार प्रवेश गरेका थिए ।
उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।




