Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो । 

स्पेनलाई फाइनल पुर्‍याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि पर्याप्त हुन सकेन।

खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। 

त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ।