Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जताततै पहिरोः ४५ सडकखण्ड अवरुद्ध

शुक्रबार रातिदेखिको परेको अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका १७ स्थानमा पहिरो खस्दा विभिन्न सडक तथा राजमार्गहरु अवरद्ध भएका छन् ।त्यस्तै,लुम्बिनी प्रदेशका १७, कर्णाली प्रदेशका तीन, सुदूरपश्चिमका पाँच, बागमतीका ६, कोशीका तीन र गण्डकी प्रदेशका नौं स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण केही स्थानमा एकतर्फी रुपमा सडक संचालन भइरहेका छन् भने केही ठाउँहरुमा पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका–३ मा आएको बाढीले दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको छ ।

यस्तै, रसुवाको स्याफ्रुवेशी धाम्बुचेत सडक खण्डमा पहिरो खस्दा सडक सूचारू गर्न १० दिन लाग्ने नेपाली प्रहरीले जनाएको छ ।
अविरल वर्षाले गर्दा पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ मा खसेको पहिरोले हटाई अहिले एकतर्फी सडक संचालनमा आएको छ । यस्तै कान्ती लोकपथ र बीपी राजमार्ग पनि एकतर्फी संचालनमा आएका छन् ।

बाढीले गर्दा मनाङको चामे बेशिसहर सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक सुचारू गर्न ५ देखि ६ दिन लाग्ने जनाइएको छ । यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको गैडाकोटमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।