Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भोटेकोशी विद्युत आयोजनाको सुरुङमा पुरिएका दुई मजदुरको शव १२ घण्टापछि भेटियो

घाइते १० जनाको उपचार हुँदै (नामावली)

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ ।

आयोजनामा बेपत्ता भएको १२ घण्टापछि शनिबार बिहान ४ बजे बर्दियाको ठाकुरबारा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारुको शव भेटिएको हो । उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन् । उनीहरू दुवै जना शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए । प्रहरी निरीक्षक जोशीका अनुसार शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ ।

ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए । पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको भए पनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

‘शुक्रबार साँझ सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ’, डीएसपी भट्टराईले भने, ‘घाइते १० जनाको सिन्धुपाल्चोक र काभ्रेका असप्तालमा उपचार भइरहेको छ ।’ भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्याम साइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको उनले बताए । गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ । घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ ।

यी हुन् १० घाइते

१. जिल्ला बर्दिया बार बर्दिया नपा बस्ने बर्ष अंन्दाजी ४० को लहानु थारु अवस्था मध्यम (हल्का बोल्न सक्ने) धुलिखेल आस्पताल रिफर ।
२.ऐऐ नपा५ बस्ने वर्ष अंन्दाजी ४५ को दुर्गा चौधरी । पेटमा चोट अवस्था मध्यम, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर ।
३. ऐऐ बस्ने बर्ष अन्दाजी ४० को आइतमान थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर ।
४. जिल्ला दोलखा कालिञ्चोक गापा ९ बस्ने वर्ष अन्दाजी ४१ को आइतबहादुर थामी ढाडमा चोट । अवस्था मध्यम बाह्रविसे किस्टोन अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम ।
५. ऐऐ बस्ने वर्ष अन्दाजी ३१ को विजय थामी दुवै खुट्टामा चोट। अवस्था मध्यम ९हल्का बोल्न सक्ने० किस्टोन अस्पतालमा उपचार भईरहेको ।
६. ऐऐ बस्ने वर्ष अन्दाजी ३० को दिपक थामी बाह्रबप्से किस्टोन अस्पतालमा उपचार भईरहेको। अवस्था मध्यम ।
७. ऐऐ बस्ने वर्ष अन्दाजी ४५ को पदमबहादुर थामी बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको। अवस्था मध्यम ।
८. जिल्ला रोल्पा लिबाङ नपा २ बस्ने वर्ष २३ को सासन रोका मगर। बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको, अवस्था मध्यम ।
९. ऐऐ बस्ने वर्ष अन्दाजी ५६ को गोपाल थामी । बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको ।
१०. जिल्ला दोलखा बैतेश्वर गापा ८ बस्ने वर्ष ५८ को राम चन्द्र रिमाल। भित्री चोट ९बोल्न सक्ने० बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको ।