Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पाँचथरमा झाँक्री हेर्न आएका युवामाथि सामुहिक कुटपिट हुँदा गयो ज्यान

पाँचथरको फिदिम नगरपालिका–१४ मा सामुहिक कुटपिटबाट गम्भीर घाइते एक युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने ९धामीझाँकी० नचाउने कार्यक्रम हेर्न आएका युवाहरूबीच कुटाकुट हुँदा घाइते भएका फिदिम–१४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ साढे नौं बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेशसहित २८ वर्षका पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विकलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते राईलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल अस्पतालमा ल्याइएको थियो ।

उनलाई शुक्रवार बिहान चार बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले बताए । उनका अनुसार घाइते भएकामध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ । उनीहरूबीच के विषयमा झगडा भएको हो भन्ने खुल्न सकेको छैन । कुटपिटमा संलग्न युवाहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।