सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बुधबार बिहान काठमाडौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झण्डै ११ फिट गहिरो खाल्डो परेको हो । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।
मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।
सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।