Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बैंसरीमा पहिरोले भ्यान पुरेपछि...

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसाधन पुरिएको छ । पहिरो खसेपछि अहिले यातायात अवरुद्ध भएको छ । बर्खामा बैंसरी खण्डमा यात्रा निकै जोखिम हुने गरेको स्थानीयको भनाइ छ । मुस्ताङबाट यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान म्याग्दीको रघुगंगा गाउँपालिका –२ मा पर्ने बैंसरी पहिरोमा मंगलबार राति साढे ८ बजे पुरिएको हो ।

पहिरोले भ्यान पुरिएलगतै चालकसहित तीन जनाको सकुशल उद्धार गरिएको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको थियो । मङ्गलवार साढे ८ बजेतिर भ्यान फसेपछि चालकसहित तीन जना यात्रुको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताए । ‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षति भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भने ।

बुधवार बिहान भ्यानलाई निकालेर सडक चालु गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत करिब आधा दर्जन स्थानमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ । गत वर्ष समेत बैसरीमै बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा पहिरो खसेर एक चालकको ज्यान गएको थियो ।

बैसरीको बैकल्पिक बाटो चमेरे–राखु-पिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग समेत जोखिमपूर्ण छ । वर्षाको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा छन् । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा भएको आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ ।