नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा आज होटल भिष्वा, बीरगंज, पर्सामा उक्त सभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।
त्यसैगरी, आव २०७९/८० को लागि लेखापरीक्षक एसएआर एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । यस सभाले आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारण सभाले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५५ (कर प्रयोजनसहित) का दरले हुन आउने रु. १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यसका साथसाथै, साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरुबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख)का सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।
अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको बताए ।
कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, लर्निङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए । साथै, कम्पनीले रिस्क म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए ।
सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले साधारण सभामा सेयरधनीहरुले राखेका सुझावहरुलाई सकारात्मक रूपमा लिईने जानकारी गराउँदै कम्पनीको विकासमा योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरे ।