नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ । थापाविरुद्ध दायर रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो ।
न्यायाधीश शकुन्तला कार्कीृको इजलासमा सुनुवाइ भएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ । उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।
यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ । उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।