Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रविन्द्र जडेजाले पनि लिए अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास

भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी–२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी–२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी–२० विश्वकप जितेको छ । विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।