अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा चितवनको गोविन्द बस्तीमा भारी वर्षा भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १५५.८ मिलिमिटर वर्षा भएको छ । चितवनकै कल्याणपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । नवलपुरको देउरालीमा ९७, पाल्पाको बल्याङगढीमा १०१, अछामको मंगलसेनमा ९६.४ मिलिमिटर वर्षा भएको छ ।
अहिले बिहीबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हिजो ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङमा बाढी आउने गरी पानी परेको थियो । आज पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो बुधबार मात्रै विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १४ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता उपसचिव डा। डिजन भट्टराईले घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए ।
प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।