Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वर्षाले विराटनगरका बस्ती जलमग्न

लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो । अत्यधिक वर्षाका कारण बूढीखोला, केसलियालगायत खोलामा जल सतह बढेको वडा नम्बर–१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए । वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताएका छन् ।

वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न बनेका छन् । ‘बरगाछीदेखि कञ्चनबारीसम्म जलमग्न हुने अवस्था छ । पानी पर्न रोकिएको छैन,’ उनले सुनाए । पछिल्लो मोरङको हरैचामा ९५ मिलिलिटर पानी परेको छ । भारी वर्षा भने झापाको केचना र पोखराको लामापाटन क्षेत्रमा भएको छ । झापाको केचनामा पछिल्लो २४ घण्टामा १५५.६ मिलिमिटिर र लामापाटनमा १५० मिलिमिटर पानी परेको छ । सोलुखुम्बुमा १२० मिलिमिटर पानी परेको छ । सिराहाको ढोढनामा १०४.४ र उदयपुरको सुन्दरपुरमा १०२ मिलिमिटर पानी परेको छ ।

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यस्तै गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

लमजुङमा पहिरोले पुरिँदा दुईको मृत्यु, तीन जना अझै बेपत्ता

लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र कोलासोंथर गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन् । चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजादै गर्दा विकलको बाटैमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

यता, कोलासोंथर गाउँपालिका बगुमका रूद्रमानसहित ४ जना पहिरोले पुरिएर वेपत्ता भएका थिए । पहिरो पन्छाएर उनीहरुको खोजी गर्दा ६९ बर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए । पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै वेपत्ता छन् ।

अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र कोलासोंथर गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ । मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र वेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय नीरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन् । यस्तै, गाउँपालिका योजना शाखा प्रमख चित्र घले पनि पालिकाको केन्द्र रहेको मालिङमा रहेकाले जोगिएको गुरुङले बताइन् । पहिरोमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन् ।