Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चट्याङ लागेर एकै दिन पाँच जनाको मृत्यु

झापा र रोल्पामा चट्याङ लागेर एकै दिन पाँच जनाको ज्यान गएको छ । झापाको झापा गाउँपालिका–४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बीउ उखेल्ने क्रममा चट्याङले हानेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार बिहान कमल गाउँपालिका–२ समइगढमा खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको वडाध्यक्ष उडवीर घर्तिमगरले जानकारी दिए । मृतकहरू नाताले नन्द–भाउजू हुन् । उनीहरुको शव अहिले घटनास्थमै रहेको र प्रहरीले मुचुल्का उठाउने काम भइरहेको वडध्यक्ष मगरको भनाइ छ ।