विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । मङ्गलवार एक प्रतिवेदन सार्वजनिक गर्दै सङ्गठनले हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्य रूपमा उच्च’ रहेको बताएको छ ।
मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष विश्वभर हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाखको मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत रहेको थियो । यसमा करिब तीन–चौथाई पुरुषहरू रहेका थिए ।
सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको सङ्गठनका प्रमुख डा।टेड्रोस एड्हनोम घेब्रेयसुसले बताए । युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, ‘तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।’
सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको उनको भनाइ छ । मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसंक्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा भनिएको छ ।
यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो । प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी र निमोनियाजस्ता संक्रामक रोगप्रति अधिक संवेदनशील बनाउने औंल्याएको छ ।
सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए । यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो । प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ ।