Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन

बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरूको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।

छोरीको भ्रूणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृत्तिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए ।

“छोरीको उज्जवल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको रु दुई हजार पाँच सय ठुलो रकम बन्नेछ”, उपप्रमुख शर्माले भने, “यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयनमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरूको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”

बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दती खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए । नगरपालिकाले कुश्मिसेरालाई केरा पकेट क्षेत्रका रूपमा विकास गर्न ‘सेरा जाऊ, केरा खाऊ’ कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि उक्त कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने विश्वास लिइएको छ । यस्तै दूधको बिक्रीका आधारमा प्रतिलिटर रु एक अनुदान दिँदै आएको नगरपालिकाले आगामी वर्ष प्रतिलिटर रु तीन अनुदान दिने भएको छ ।

नगर प्रमुख नरबहादुर पुनले नगरभित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रूपमा रहेको सर्वोदय जनक माध्यमिक विद्यालयमा आवासीय सुविधासहित अध्यापन गराउने जानकारी दिए ।