Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । 

“यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे । 

कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने
नगरपालिकाले सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ । कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ ।