Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

माओवादीको कारबाहीविरुद्ध सर्वोच्चमा गण्डकीका सांसद देवकोटाको रिट, आइतबार पेसी

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटा आफूमाथि भएको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाही गैरकानुनी भएको भन्दै देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

देवकोटाको रिट दर्ता भएको र पेसी आइतबार तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए । पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दललले देवकोटालाई कारबाही गर्न प्रदेश सभाको संसद सचिवालयमा पत्र पठाएको थियो । त्यसपछि सभामुखले उक्त पत्र संसद बैठकमा पढेर सुनाएका थिए ।

माओवादीको पत्र संसद सचिवालयमा पुगेर सभामुखले सभामा वाचन गरेसँगै देवकोटा पदमुक्त भएका थिए । उनले नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटा पाण्डे नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत बनेका छन् । सांसद नभए पनि उनी ६ महिनासम्म मन्त्री भने हुन पाउँछन् । देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २९१० बाट निर्वाचित भएका थिए ।