अमेरिका र वेष्ट इण्डिजमा भएको टी २० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले ठूला टिमहरूसँग द्विपक्षीय श्रृंखलामा केन्द्रित हुनुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी टिमले अमेरिका र वेष्ट इण्डिज प्रतियोगिताबारे अनुभव सार्वजनिक गरेको हो ।
कप्तान रोहितले विश्वकपमा एउटा जित हात नपारे पनि समग्र राम्रो भएको बताएका छन् । सुपर–८ मा पुग्ने लक्ष्यका साथ प्रतियोगिता खेल्न गए पनि समूह चरणबाटै बाहिरिनुपरेको उनको भनाइ छ । उनले ठूला प्रतियोगितामा ठूला टिमहरूसँग खेलेको अनुभव नहुनुको प्रभाव अहिले प्रतियोगितामा देखिएको बताए ।
रोहितले सबैभन्दा धेरै जवाफ दिनुपरेको विषय थियो– दक्षिण अफ्रिकासँगको एक रनको हार । पौडेलले जितिसकेको खेल हानुपर्दा निकै दुःखी भएको बताएका छन् । उनले यो हारले दर्शक, खेलाडी र सबै कोचिङ स्टाफमा निराशा आएको बताए । तर, खेलमा हार–जित स्वाभाविक रहेको उनको भनाइ छ ।
उनले अमेरिका र वेष्ट इण्डिजको कन्डिसन ब्याटरका लागि अनुकूल नहुँदा पनि टिमले हार व्यहोर्नु परेको उल्लेख गर्दै यसको जिम्मेवारी ब्याटिङ साइडले लिनुपर्ने बताए । उनले बलरले राम्रो प्रदर्शन गरे पनि टप अर्डर ब्याटरले राम्रो प्रदर्शन नगर्दा हार व्यहोरेको भन्दै यो अनुभवका कमीले भएको बताए । उनले टेष्ट टिमको मान्यता पाउने लक्ष्य लिएकाले अब टेष्ट मान्यता पाएका टिमहरूसँगै द्विपक्षीय खेल खेल्नुपर्ने बताए ।
भिडियो: