Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित तीन जनालाई आठ वर्ष कैद फैसला

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई आठ वर्षका दरले कैद सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।

राजस्व चुहावटको अभियोगमा मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार ९९० रुपैयाँ बिगो असुल गर्न विशेष अदालतको आदेश छ । इजलासले जेठ २८ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज बुधबार पेशी तोकेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको हस्ताक्षरबाट पारित लिखतबाट संकलन भएको सो रकम भ्रष्टाचार भएकाले दुई करोड ९ लाख ३१ हजार ६४७ बिगो कायम गर्दै त्यसको दोब्बर रकम जरिवाना हुन मागदाबी लिएको थियो । सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि आठ वर्ष कैद र मिश्रलाई जति नै बिगो तथा जरीवाना भराउने फैसला भएको छ ।

अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनलाई पनि आठ वर्ष कैद तथा बिगो र जरिवाना पनि मिश्र र बोगटीलाई जति नै तोकिएको छ ।
अरु तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । तत्कालीन मालपोत अधिकृत गोपाल ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गर्दै त्यसको दोब्बर जरिवाना माग गरिएको थियो ।

उनलाई ४ वर्ष कैद, ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना र ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो भराउने फैसला भएको छ । तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना माग गरिएको थियो । विशेष अदालतले उनलाई २ वर्ष कैद, ३३ लाख ६३ हजार २ सय रुपैयाँ जरिवाना र १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो भराउने फैसला गरेको छ ।