Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बागमती सुधारका नाममा खर्च अति भयोः सन्तोष चालिसे

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले अधिकार सम्पन्न एकीकृत बागमती सुधार आयोजनाको नौ महिनादेखि रिक्त अध्यक्ष पद नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आयोजनाले तीन दशकदेखि गरेको खर्चको परिणाम राम्रो नदेखिएकोमा असन्तुष्टि जनाए ।

बिहीबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसद चालिसेले २१ अर्ब बागमती सफाइको नाममा सकिँदा समेत अवस्थामा सुधार नआएकामा आयोजनाको कामप्रति टिप्पणी गरेका हु्न् ।  उनले भने, ‘तीन दशक अघि स्थापना भएको आयोजनामा २१ अर्ब खर्च भैसक्दा पनि दुर्गन्धित बागमती नै हामीले देख्न परेको छ । बागमती किनारमा रहेका मठ मन्दिर पनि दुर्गन्धित भएका छन् । बागमतीमा कसैले हात चोपल्न सक्ने अवस्था समेत छैन ।’

उनले बागमती आयोजनाका लागि छुट्याइएको बजेट खर्च भएपनि त्यसले बागमतीको सुधार नभएको उल्लेख गर्दै परिणाम आउनेगरी काम गर्नुपर्नेमा सरोकारवाला निकायको ध्यानाकर्षण गराए । यस्तै उनले नौ महिनादेखि रिक्त रहेको अध्यक्षको नियुत्ति गराउन जोड दिए ।

‘२ अर्ब ७५ करोड बजेट यस वर्ष पनि छुट्याइएको छ । गत वर्ष पनि २ अर्ब ५२ करोड करोड बजेट छुट्याइएको थियो । त्यहाँ १३० जना कर्मचारी छन्, नौ महिनादेखि अध्यक्षको नियुक्ति हुन सकेको छैन । अब चाँही अति नै भयो । म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु, चाँडो भन्दा चाँडो बागमती नदी सफा हुनुपर्यो’, सांसद चालिसेले भने ।