पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मत सम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मत सम्भार गरेको हो ।
१३ नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताए । ‘पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको छ’, उनले भने, ‘बाँकी दुई सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ ।’ प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ ।
यसैगरी चार सय ५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मत सम्भार गर्नुपर्नेमा हालसम्म तीन सय ६८ वटाको मर्मतसम्भार भइसकेको छ भने ८७ वटाको मात्रै रङरोगन र मर्मतसम्भार गर्न बाँकी छ । पर्सामा मुख्य, सहायक र साना गरी कुल ९० वटा सीमास्तम्भ मर्मत सम्भार गर्न बाँकी छ ।