Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौंः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले मन्त्री हाबी हुने बजेट तर्जुमा गर्न बन्द हुनुपर्ने बताएका छन् ।

बजेट निर्माणका लागि निश्चित मापदण्ड तयार गर्नुपर्ने उनले बताए । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा प्रमुख सचेतक परियारले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताए । उनले अमूक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताए । उनले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

‘अब बजेट एउटा विधिमा बनाऔँ, एउटा पद्धतिमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौं । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन? अमूक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ । एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त । कानुन तर्जुमा गर्न सकिन्छ होला नि त,’ परियारले भने, ‘सरकारका मन्त्रीको विशेष प्राथमिकता होलान् । तर, कमसेकम हाम्रा सबै क्षेत्रमा, सबै भूगोल, सबै निर्वाचन क्षेत्रमा न्यूनतम यति बजेट जाने भन्ने कुरा त गर्न सकिन्छ होला नि! त्यो खालको कार्यपद्धती बनाउन किन नसक्ने? त्यो गर्न सकियो भने मात्रै बजेट, सरकारका माथि आएका टिकाटिप्पणी कम हुन्छ भन्ने मलाई लाग्छ । अन्यथा फेरि पनि बजेट माथि गर्ने बहस यस्तै रहन्छ ।’