Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालको शानदार बलिङ, नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य

टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् ।

नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे ।

रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, तास्किन अहमदले पनि १२ रन तथा ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।

नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । साथै नेपालका सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो र पहिलो नेपाली खेलाडी बने ।