Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्योः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् । आज आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।

संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाइ थियो । उनले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले संघीयताको सुदृढीकरणका लागि विश्व बैंकलगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए ।

‘संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको छ । संघीयताले मुलुकमाथि अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ,’ उनले भने, ‘नेपालले संघीयताको सुदृढीकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर, संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो?’