Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दक्षिण अफ्रिकाविरुद्ध नेपालको खेल गर्व गर्न लायकः कप्तान रोहित

आईसीसी टी–२० विश्वकपमा नेपाल मात्र १ रनले दक्षिण अफ्रिकासँग पराजित भएपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ । बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्‍यो । अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ ।’

खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोकेको थियो । कप्तान रोहितले शुक्रबार विकेट हेरेपछि ‘स्लो विकेट’ देखेर पहिले बलिङ गरेको बताए । ‘हिजो विकेट हेरेपछि स्लो विकेट हुन्छ भन्ने लागेको थियो,’ रोहितले भने, ‘जब हामी बलिङ गरिरहेका थियौं, विकेटले हाम्रा स्पिनर मद्दत गरिरहेको थियो। त्यसैले हामीले स्पिनरलाई प्रयोग गर्‍यौं ।’

उनले जित नजिक पुगेर हार्दा दुःख लगेको बताए । तर उनले दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गरेको बताए । ‘हामी जितको धेरै नजिक पनि पुग्यौं । हामीले धेरै राम्रो फाइट गर्न सक्यौं,’ उनको भनाइ छ । नेपाली टोलीको हारको मुख्य कारण अनुभव देखिएको छ । सानो लक्ष्य पाए पनि अनुभवी टोलीविरूद्ध नेपाली ब्याटर संयम हुन सकेनन् । कप्तान रोहित पनि नेपाली टोलीमा एक्सपोजरको कमी भएको बताउँछन् । ठूलो टोलीविरुद्धको खेलमा एक्सपोजर पाउन सके भविष्यमा जित निकाल्न सक्ने रोहितको भनाइ छ । ‘हामीले यस्तै खालको खेलमा एक्सपोजर पाउन सक्यौं भने हामी आगामी खेलमा नजिता दिन सक्छौं,’ उनले भने ।