Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ट्वान्टी-२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्दै, नेपाललाई जितको दबाब

आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।

New Project (12).png

नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन्। यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन्। यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ। दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ। दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ।

यसअघि आफ्नो दोस्रो खेलमा वर्षा बाधक भन्दा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो। पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। पहिलो खेलमा १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्रलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ। समूह ‘डी’ का तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ। चार अंक जोडेको बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंकाको एकएक अंक छ। नेपालले समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

नेपाली टोली

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।