Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सडक बनेको १८ वर्षपछि कालोपत्र

म्याग्दीको बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए । ‘आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो’, उनले भने, ‘आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ ।’

चालु आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र बेनी नगरपालिकाले रु ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान–छापा–डाँडाखेत सडक स्तरोन्नति भएको हो । यो सडकको चार सय मिटर नाली निर्माण चार सय ५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय ३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले जानकारी दिए ।

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगर प्रमुख सुरत केसीले बताएका छन् ।