नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि १०० खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप २०२६-एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीवार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलवार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए । उनले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै सय खेल खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बता ए। उनले आफ्नो स्वास्थ्य राम्रो हुञ्जेलसम्म टिमबाट खेलिरहने बताए ।
उनले भने, ‘खेलाडीहरूको खेल तलमाथि भइरहन्छ नै । मैले १०० गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुञ्जेलसम्म खेल्नेछु । सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौं । नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ । ४ जना बाहेक सबै नयाँ छन् ।’
त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविष्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताएका छन् । उनले आफू भन्दा बलिया टिमहरूसँग खेल्दा अनुभव बटुल्न पाएको बताए । उनले बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने विश्वास व्यक्त गरे । उनले थपे, ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौं । बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ ।’
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताए । उनले यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको बताए । उनले थपे, ‘हामीले राम्रो खेल खेलेका छौँ । यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौं । बराबरीमा बस्नुपरेको छ । सबैले राम्रो खेलेका छन् ।’ यमनसँग नेपालले २—२ को बराबरी खेलेको थियो ।