Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सन्दीप टिममा आएपछि कप्तान रोहितले भने- श्रीलंकालाई हराउँदै इतिहास रच्ने अवसर छ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्। विश्वकप अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार बिहान टेस्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।

आइसिसि टि-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए।

उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए। उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए। कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए। 

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने सुनौलो अवसर रहेको बताएका छन्।  नेपालले श्रीलंकासँग फ्लोरिडाको लडरहिलस्थित ब्रोवार्ड काउन्टी स्टेडियममा खेल्नेछ। फ्लोरिडामा विश्वकपको पहिलो खेल हुन लागेको हो तर श्रीलंकाले यो पिचमा विश्वकप अघि दुई वार्म–अप म्याच खेलेको थियो। नेदरल्यान्डस्‌सँग पराजित भएको उसले आयरल्यान्ड माथि जीत हात पारेको थियो। 

नेपालले यहाँ तीन दिन अभ्यास गर्‍यो।  प्रि म्याच कन्फरेन्समा कप्तान रोहितले दोस्रो खेलका लागि प्राप्त समयले लडरहिलको वातावरणसँग भिज्न र तयारी गर्न सहयोग गरेको बताए।  यो विश्वकपमा एसोसिएसट राष्ट्रले टेस्ट खेल्ने देशलाई पराजित गरिरहेकाले आफूहरूका लागि पनि प्रेरणा मिलेको उनले बताए।  टी–ट्वेन्टी विश्वकपमा डेब्यु गरेको अमेरिकाले पाकिस्तान माथि डालासमा सनसनी पूर्ण जीत हात पारेको थियो। 

‘श्रीलंका टिम राम्रो छ। टी–ट्वेन्टी विश्वकप जितिसकेको टिम हो। कुनै पनि विपक्षीलाई हामी सहज लिँदैनौ। तर जारी विश्वकपमा श्रीलंकाले सोचे जस्तो खेल्न सकिरहेको छैन। रोहितले भने, ब्याटिङ चलिरहेको छैन। त्यसको फाइदा उठाउँदै बलिङ युनिटले कम स्कोरमा रोकेर चेज गर्न सके इतिहास कोरिनेछ।’ सन्दीप लामिछाने आएसँगै नेपाली टिम १४ जनाको रहेको छ। स्पिनर सन्दीपले प्रतीश जिसीलाई रिप्लेस गरेका हुन्। उनले श्रीलंकाको खेल खेल्ने छैनन्। वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँग सन्दीपले खेल्नेछन्।  

नेपालले नेदरल्यान्डस्‌सँग पहिले ब्याटिङ गर्दै १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ६ रन बनाएको थियो। नेपाल नेदरल्याण्डसँग ४ विकेटे पराजित भएको छ।  श्रीलंका समूहको आफ्नो तेस्रो खेल खेल्दै छ। यसअघि उसले दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोरेको थियो। नेपालसँग हार बेहोरे पूर्व च्याम्पियन समूह चरणबाटै बाहिरिनेछ। 

समूह डी मारहेको  दक्षिण अफ्रिका लगातार तीन खेल जित्दै सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ।