महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।
कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको डीएसपी जयसवालले जानकारी दिए । गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी लुटपाट गरेको स्थानीयले बताएका छन् ।
घटनास्थलमा दुई वटा गोली फेला परेको छ भने दुई वटा फायर भएको पाइएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।