Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काम नै नगरी लाखौं भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहाको नवराजपुरस्थित एक आधारभूत विद्यालयको भवनका लागि खर्च भएको भन्दै काम नै नगरी १४ लाख ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव, नवराजपुर–४ का वडाध्यक्ष मदन यादव र ५ का तत्कालीन अध्यक्ष मनोज कुमार यादव, २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साहलाई प्रतिवादी बनाइएको छ ।

यस्तै नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव–इन्जिनियर सन्तोषकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई पनि प्रतिवादी बनाइएको छ ।

नवराजपुर–२ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालयमा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सबै रकम हिनामिना गरेको आरोप छ ।

आर्थिक वर्ष २०७७/७८ मा उक्त विद्यालयको भवनको काम भएको थिएन । काम गरेको भन्दै नापी किताब, सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्यांकन गरी भुक्तानी स्वीकृत गराएर गाउँपालिकालाई हानि नोक्सानी पुर्‍याएको दाबी आयोगको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै मुद्दामा भ्रष्टाचार कसुरमा संलग्नमाथि सजाय र बिगो बमोजिमको जरिवानाको मागदाबी लिइएको छ ।