Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

छिपछिपे सहकारीको साढे १६ करोड घोटालाका सात आरोपीलाई भरतपुर कारागार पठाइयो

राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित २५ जना अझै फरार

कावासोतीस्थित छिपछिपे सहकारी संस्थाको १६ करोड ५८ लाख घोटालाका सात आरोपितलाई आज सोमबार कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरुलाई भरतपुर कारागार पठाएको हो ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने सात जनालाई कारागार चलान गरिएको जानकारी दिए । पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरुलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डीराज गौतम, बिकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरु रकम हिनामिनाको आरोपमा दुई महिनाअघि पक्राउ परेका हुन् । सहकारीको रकम हिनामिनाको अभियोगमा प्रहरीले विपक्षी बनाएर मुद्दा दायर गरेका हालका अध्यक्ष गोपीकृष्ण शर्मा, सुनिता कुमारी न्यौपाने जनही २ लाख ५० हजार धरौटीमा छुटेका छन् । त्यस्तै तीर्थराज कैनीले १० लाख धरौटी बुझाएका छन् ।

जेठ २० गते प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरु बिरुद्ध मुद्दा दर्ता गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ पुर्जी जारी भएका राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित २५ जना भने फरार रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको छ ।

छिपछिपे सहकारीको रकम घोटला गरेको अभियोगमा जिल्ला प्रहरीले ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो । छिपछिपे सहकारी संस्थाका २३ सय ९४ बचतकर्ता र शेयर सदस्यहरुको १६ करोड ५८ लाख भन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनको आधारमा उनीहरुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो ।