Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सातदोबाटोको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पलमा डुबेर एक युवकको मृत्यु भएको छ । आइतबार पौडी खेल्न जाँदा डुबेका युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मृतक महांकाल गाउँपालिका–३ गोटिखेल घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय उज्वल श्रेष्ठ छन् । उनी आइतबार बिहान साढे ११ बजेतिर पौडी खेल्ने क्रममा पुलमा डुबेका थिए । डुबेर बेहोस भएका उनलाई लाइफ गार्डको सहयोगमा उद्धार गरिएको थियो । उपचारको लागि बिएन्डबी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गर्मीमा पौडी खेल्न जाने व्यक्तिहरूले सुरक्षा सावधानी अपनाउन ललितपुर प्रहरीले अनुरोध गरेको छ । गहिरोमा पौडी खेल्दा जोखिम हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो । यसअघि गत शुक्रबार पनि ललितपुरकै गोदावरी नगरपालिका–१३ झरूवासी सन्तानेश्वरस्थित काक्रोखोला नजिकै बारगाहा झरनामा पौडी खेल्न गएका अर्का एक युवकको पनि डुबेर मृत्यु भएको थियो ।

 गोदावरी–१४ बाडेगाउँका २२ वर्षीय सञ्जय नेपाली पौडी खेल्नेक्रममा डुबेर बेहोस भएका उनको उपचारका लागि पाटन अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो ।