Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विपीन जोशीको घरमा पुगेर इजरायली राजदूतले भन्यो- रिहाइको पहल जारी छ

नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो ।

सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए । “विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उनले भने, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”

विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए । “राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो”, जोशीले भने, “उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।”

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधिकारीहरू सहभागी थिए ।