Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रले सात दिनमै संसार छाडे

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपालीको सात दिनमै मृत्यु भएको छ । कोरिया पुगेको साता दिनमै जाजरकोट छेडागाड नगरपालिका–३ का हरिचन्द्र अधिकारीको मृत्यु भएको हो ।

२०७८ सालमा प्रहरीको जागिर खाए पनि त्यसबाट घर खर्च धान्न धौधौ भएपछि उनी कोरिया गएका थिए । २०७९ मा इपिएस परीक्षा पास गरे पनि पालो पर्खदा पर्खदै दुई वर्षपछि प्रहरीको जागिर छाडेर यही जेठ १४ गते उनी कोरियातर्फ उडेका थिए । तर, कोरिया पुगेर काम थालेको तीन दिनमै उनी बिरामी परे । बिरामी परेको तीन दिनमै उनले संसार छाडेका छन् । उमेरले २५ मात्रैका उनको मृत्युले परिवारमा ठूलो बज्रपात आइपरेको छ ।

दुई वर्षकी काखे छोरी बोकेर श्रीमान आउने पर्खाइमा रहेकी श्रीमती प्रतीक्षाको सिउँदो पनि कलिलै उमेरमा पुछिएको छ । कम पारिश्रमिक र घर परिवारको ठूलो जिम्मेवारीले प्रहरीको सेवामा टिक्न नसकेर विदेशिका उनी यो संसारमै रहेनन् । कोरिया पुगेको हप्तामै दिनमै दाजुको मृत्युको खबरले बिहे गरेर गइसकेकी ज्ञानु अधिकारी न्यौपाने स्तब्ध छिन् । ‘भगवान कोरिया पुगेको हप्ता दिन नपुग्दै हाम्रो घरको खुशी खोसिस्’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।