Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, अंकगणित छैन सरकार अनुकूल

पाण्डेले विश्वासको मत नपाए धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सात (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् । विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । तर, आइतबार रातिसम्म उनले विश्वासको मत पाउने आधार देखिएको छैन ।

पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको बाटो खुला हुनेछ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । तर, अंकगणित भने सरकारको अनुकूल छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ ।


कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफ्नो पोल्टामा पारे पनि उससँग बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ ।