Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

क्यान्सर पीडित ‘प्रचण्ड’लाई गोरेटोद्वारा आर्थिक सहयोग

एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जाने भएका छन् । आन्द्रामा तेस्रो स्टेजको क्यान्सरसँग लडिरहेका नक्कली‘प्रचण्ड’को उपनामले चिनिएका घनश्याम गतवर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि एक वर्षदेखि ओछ्यानमा थलिएका छन् ।

उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई  गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ । गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो ।

विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन् ,‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदैछु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’ क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटोले पछिल्ला दिनमा विभिन्न किसिमका सामाजिक क्रियाकलापमा पनि हात हाल्दै आएका बेला कलाकार गौतमको घाउमा सानै भए पनि मलम लगाउने प्रयास गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए ।

कँडेल भन्छन् ,‘कलाकार गौतमको शीघ्र स्वास्थ्य लाभको कामना छ । यस्तो गम्भीर रोगमा कलाकारको उपचारमा राज्य नै संवेदनशिल भएमा नागरिकले समयमा उपचार पाउनुपर्छ । त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी र  एड्भाइजर राम खड्काले पनि कलाकार गौतमको स्वास्थ्यलाभको कामना गरेका छन् ।