धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित त्रिशूली नदीमा शनिबार बेपत्ता भएका दुई किशोरमध्य एकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले नदीका २० फिट गहिराईबाट १५ वर्षीय युनिक सुवेदीको शव आज आइतबार निकालेको हो ।
सोही स्थानका १३ वषीय रिदम रोईला अझै बेपत्ता छन् । उनको खोजी जारी रहेको एपीएफले जनाएको छ । युनिक र रिदम शनिबार दिउँसो ४ बजेदेखि हराइ रहेका थिए । त्रिशूली नदी किनारमा उनीहरूले लगाएको कपडा भेटिएपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट सशस्त्र प्रहरी उपरीक्षक मदन कुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
तर शनिबार ती किशोरहरू फेला नपरेपछि उद्धार कार्य स्थगित गरेको सशस्त्र प्रहरीले आज विहानैदेखि खोेजी सुरु गरेको थियो । त्यसक्रममा आज १ः२० बजे कपडा खोलेको ठाउँ देखि १०(१५ मिटर माथि युनिकको लाश फेला पारेको हो । उनीसँगै हराइरहेका अर्का किशोर रिदमको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।