Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

खच्चडको उद्धारपछि पुलमा आवातजावत रोकियोः स्कुल गएका विद्यार्थी घर फर्किन पाएनन्

पुलमा फसेका ११ खच्चडको जीवितै उद्धार, दुईटा मरे

कर्णाली नदीमाथि फसेका १३ खच्चडमध्ये उद्धारको क्रममा दुई खच्चड मरेका छन् । ११ वटाको जीवितै उद्धार भएको छ । आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका–४ खिड्कीज्यूला जाने क्रममा झोलुङ्गे पुलको लठ्ठा चुडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए ।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । अछाम प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार पुलको एकतर्फको लठ्ठा चुडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ ।

आवतजावत रोकिंदा बिहान दैलेखबाट अछाम आएका विद्यार्थीलाई घर फर्किन समस्या भएको छ । बिहान पुल चुडिँनु भन्दा पहिले विद्यालय पुगेका बालबालिक अहिले पुलको छेउमा जम्मा भएका छन् । दैलेखको आठबिस नगरपालिका ४ खिड्की ज्युला र ५ पिपलकोटका विद्यार्थी अछामको चिल्तडामा रहेको चण्डिका माध्यामिक विद्यालयमा पढ्छन् । विद्यार्थी घर फर्किनको लागि अब एक मात्र विकल्प डुङ्गाबाट घर फर्किनु पर्ने रहेको छ ।