सुन्दरीजलस्थित वागमतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ । गुह्येश्वरीमाथिको वागमतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले आज मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन् ।
वागमतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । वागमती सफाइमात्र नभई वागमती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उनले एक दशक अघिदेखि निरन्तर सफाइ भइरहेको बताए ।
एक दशक अघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ । गुह्येश्वरीमाथिको वागमती सफाइको शनिबार पाँच सय ३८औं हप्ता हो । अभियानले आजदेखि प्रत्येक हप्ताको शनिबार वागमती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए ।
यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वागमती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित वागमतीमा गरिएको छ । सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि वागमती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वागमतीमा धेरै परिवर्तन आउन सकेको छैन । वाग्मतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ ।