Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जुम्ल्याहा छोरासहित महिला बेपत्ता, विदेश भएका श्रीमान खोजीका लागि आइपुगे नेपाल

रुकुमपश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला दुई सातादेखि बेपत्ता भएकी छिन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकिता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता भएकी हुन् ।

सात वर्षका जुम्ल्याहा छोरासहित अंकिता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै घरबाट हिँडेकी खत्री १३ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

खत्रीका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजी कार्यको मागसहित प्रहरीमा निवेदन दिएका हुन् । बेपत्ता खत्रीका श्रीमान वैदेशिक रोजगारीका लागि देश बाहिर थिए । श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनी पनि नेपाल फर्किएका छन् ।

प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताएका छन् । घर परिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ ।