Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

‘जरबेरा’ फूल खेतीबाट कुशको कमाइ महिनामै १० लाखसम्म

भक्तपुर गुन्डुमा जरबेरा फूल खेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुन्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित बनाएको छ ।

‘कट फ्लावर’ का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेँलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फुल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ ।

इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा १० लाख रूपैयाँसम्म आम्दानी दिने किसान कार्की बताउँछन् । दुई रोपनी जग्गामा फूलखेती सुरु गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन् ।

जरबेराका पाँच थरिका फूल फुलिरहेको उनको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा एक सय १० रूपैयाँमा खरिद गरि तीन हजार पाँच सय बिरुवा लगाएकामा हाल तीन हजार एक सय बोटले फूलको उत्पादन दिइरहेको र चार सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिए । एक दिन बिराएर एक पटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उनले मौसम हेरेर १५ रूपैयाँदेखि ३० रूपैयाँमा एउटा फूल बताए । यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटले दुई हजार एक सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा १० लाख रूपैयाँसम्म आम्दानी हुने बताए ।

सुरुमा २० लाख रूपैयाँ लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नुनपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए ।

नगर उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताइन् । उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिइन् । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विगत छ वर्षदेखि सूर्यविनायकको गुन्डुलाई फूलखेतीको पकेट क्षेत्रका रुपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताए ।

उनले गुन्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुन्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए । उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताए । गुन्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिए ।

गुन्डुबाट मात्रै एक वर्षमा रु १० करोडको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुन्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताए ।

प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि नौ लाख ६० हजार रूपैयाँमध्ये चार लाख ८० हजार रूपैयाँ अनुदान दिएको उनले बताए । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताए ।