Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जसपा नेपाल विभाजन भएको छैनः उपेन्द्र यादव

‘मन्त्री बन्न चोइटिए, निर्वाचन आयोगलाई घोक्रेठ्याक लगाइयो’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन् । आज शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका हुन् ।

उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको बताए । उनले केही नेताहरुलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे । उनले भने, ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राति निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनिय र गलत कार्य हो । यहाँहरुलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयंले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाए ।’

उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएको आरोप लगाए । अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए ।

यादवले भने, ‘‘आफ्नो सत्ता टिकाउनलाई गरें भनेर घोषणा नै गर्नुभयो । त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत नै छ । यो धनुषामा पनि एक जना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरुको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरी कोही मन्त्री बन्न । कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन । कोही धनबहादुर भित्राउन । त्यहाँभन्दा बढी केही लक्ष्य छैन ।’ अध्यक्ष यादवले आगामी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरुसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।