Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा

कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौं जोड्ने सडक आज शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।

सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका–२ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गामाटो धेरै झरी सडकसमेत भाँसिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत बैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ ।

यस्तै थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म दैनिक पाँच घण्टा बन्द रहने छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै सो सडक दैनिक बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पूर्णरुपमा बन्द गरेको हो । सो सडक निर्माणका लागि बिएसपी÷जयश्री महालक्ष्मी जेभीसँग सम्झौता भएको छ ।