Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

केरा खेतीबाटै तीन करोड आम्दानी

म्याग्दीको बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत छ वर्षदेखि व्यावसायिक केरा खेती सुरु गरेका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गरेका छन् । यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताए ।

खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उनको भनाइ छ । कार्कीले अहिले वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिए ।

कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गरेका छन् । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उनले बताए । ‘केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफै घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ’, उनले भने ।

खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आएका छन् । बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ ।

यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिए । उनका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।

गत वर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिए। ’गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्’, उनले भने, ’उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।’ यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताए । उनका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।

गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।

गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गत वर्ष नगरपालिकाको ११ लाख र किसानको ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र औजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिइन् ।

Kera-kheti-myagdi.webp

उनका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले छ लाख र समुदायको छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गत वर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

केराको व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताइन् । गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उनको भनाइ छ ।