Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालमन्दिर जग्गा प्रकरणमा पूर्व उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्व उपाध्यक्ष पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आज शुक्रबार पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेकोे एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ । नक्सालस्थित करिव २९ रोपनी जग्गा वार्षिक एक करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो ।

तत्कालीन अध्यक्ष रीता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो । साथै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो ।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो । बृहस्पति विद्या सदन तर्फका पदाधिकारीहरूविरूद्ध पनि पुर्जी लिएको थियो । तत्कालीन अध्यक्ष चीरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।