Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गृहमन्त्री लामिछानेमाथि खनिए कैलाश सिरोहियाका छोरा सम्भव

भने– सहकारी ठगीको समाचार लुकाइदिन लामिछानेले धेरै पटक आग्रह गरेका थिए

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलनबारे समाचार नलेख्न आग्रह गरेको बताएका छन् । गृहमन्त्रीको आग्रह आफूहरुले नमानेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयलाई लिएर पक्राउ गरेको उनले बताएका छन् । कैलाश र सम्भव बाबु छोरा हुन् ।

उनले भिडियो मार्फत् भनेका छन्, ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्, उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि मिलाइदिनका लागि । उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो । व्यवस्थापनले समाचार लेख्दैन । सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्न भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनु भयो । उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।’

भिडियोमा उनले आफ्नो बाबु कैलाशले वंशजको नागरिकता पाउनाको कारण पनि खुलाएका छन् । उनले आफ्नो हजुरबुबाको नौ भाइ छोरामध्ये कैलाश कान्छो छोरा रहेको र बुबाका दाजुहरूले नागरिकता पाउँदा हजुरबुबाले नागरिकता नै नपाएको र पछि हजुरबुबाले नागरिकता लिएपछि बुबा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको बताएका छन् । ‘आज गृहमन्त्री लामिछानेले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु, कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो ।

उहाँ जन्मँदा उहाँको बुबा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो । भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो । गृह मन्त्रालयको नियम गृहमन्त्री आफैंले बुझ्नुपर्ने हो । दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन । नौ जनामध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुबाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो । यति सामान्य कुरालाई के के न जस्तो हल्ला गरियो,’ सम्भवले भनेका छन् ।

नागरिकता प्रकरणमा कैलाश सिरोहियालाई जेठ ८ गते साँझ कान्तिपुर मिडिया गु्रपको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको पक्राउको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कडा रुपमा विरोध गरिएको थियो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो ।