Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर

सजाय निर्धारणका लागि ३१ गते तोकियो पेशी

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहरिएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो ।

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गा जमिन जोडेकोलगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो । अदालतले प्रतिवादी बनाइएकी आमा जनक नन्दनी भट्टराईलाई भने सफाइ दिएको छ । भट्टराईविरुद्धको सजाय निर्धारणका लागि ३१ गते पेशी तोकिएको छ ।

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको अख्तियारको अभियोग पत्रमा थियो । अख्तियारले दायर गरेको अभियोग पत्रअनुसार घूससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेको खुलेको छ ।

भट्टराई आव २०७५-७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । उनकै पालामा अहमदले एक अर्ब २२ करोडको ठेक्का पाएका थिए । त्यही बेला भट्टराईले ठेकेदारबाट लिएको घूसको विवरण बाहिरिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।