‘सरकार चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा प्रस्तुत भयो’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् ।
आज बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डण्डा बर्साएको बताए । ‘लोकतन्त्र, गणतन्त्र प्राप्तिको आन्दोलनमा जुन किसान, मजदुरहरूले साथ दिए, अहिले राज्यसत्तामा रजाइँ गर्ने कमरेडहरूलाई। उहाँहरूले जम्मा गरेको रकम अपचलन भएपछि‘ हिजोभन्दा पहिले सम्माननीय प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए– हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने । त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन् । गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छरु,’ उनले भने ।
उनले राज्य सत्तामा पहुँच भएकाले रजाइँ गरेकाहरूले सहकारीको वचत हिनामिना गरेको बताएका छन् । यस्तो अवस्थामा चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको बताएका छन् ।
‘सहकारीको बचत हिनामिना कसले गरेको छ भने राज्य सत्तामा जसको रजाइँ छ । अझ हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेझैं पीडितहलाई हिजो डण्डा बर्साइयो । कयौं अस्पतालमा छन्, कयौं बिलखबन्दमा छन् । यही हो? जसले लोकतन्त्र ल्याउन साथ दिए, उनैलाई अन्याय,’ उनले भने ।
उनले अहिलेको समिति टालटुले र पीडकलाई जोगाउने किसिमको भएको पनि बताए । सरकारले सहकारीको बचत अपचलन छानबिन गर्न नेकपा (एमाले) का सांसद सूर्य थापाका नेतृत्वमा सात सदस्यीय समिति बनाएको छ । समितिले काम थालिसकेको छ ।